दिन् फिर्दै नरहरिनाथवासी का

विपना सिंह

कालिकोट २५ माघ ।

रमाइला नरहरिनाथमा जात्ती जुवाई लाग्दो

लालीघाट उकालाकन सम्झी रुवाई लाग्दो ।

यो देउडा गीतले भनेझैं नरहरिनाथवासी मात्र नभई सिंगो कालिकोट जिल्लाका साथै काम विशेषले नरहरिनाथ जाने मान्छेहरुका खुट्टा दुखाएको हो लालीघाट उकालोले ।

यधपी अब लालीघाट उकालोमा गाडी चल्ने सुरुवाती सँगै गाउँ पालिकाले एम्बुलेन्स समेत सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकालाई रेडक्रस मार्फत उपलब्ध एम्बुलेन्स अब लालीघाट र खुलालुका सडकहरुमा सञ्चालित भएर नरहरिनाथका बिरामीहरुको उद्धार गर्ने गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले जानकारी गराउनुभयो ।

गरीव र असहायका लागि निशुल्क र अन्यका लागि न्यूनतम शुल्कसहित सञ्चालन हुने एम्बुलेन्सले भिरको कठिन बाटोमा स्ट्रेचर मार्फत पैदल रुपमा बिरामी बोक्ने बाध्यता अन्त्य हुने अध्यक्ष बिष्टको विश्वास छ ।

रेडक्रसको अन्तराष्ट्रिय महासंघद्वारा गाउँपालिका र रेडक्रस नरहरिनाथ गाउँपालिका उपशाखा मार्फत सञ्चालन हुने गरि एम्बुलेन्स हस्तान्तरण भैसकेको छ । गाउँपालिका क्षेत्रका सडकहरु स्तरोन्नती र नयाँ निर्माणसहित नियमित यातायात सञ्चालनमा ल्याएर यातायात सेवा प्रभावकारी बनाउने गाउँपालिका उपाध्यक्ष कमल शाहको भनाई छ ।

निवर्तमान गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टका अनुसार नरहरिनाथमा एअरपोर्ट समेत निर्माण भैसकेको कारण चाडैं सञ्चालन गरिनुपर्ने र मान्मदेखि एअरपोर्ट सम्म केवुलकार समेत सञ्चालन गर्न सकियो भने नरहरिनाथवासीका लागि सुख्ख खोजेर अनेत्र जानै पर्ने छैन । केवुलकार निर्माण,एअरपोर्ट सञ्चालन र सडक स्तरोन्नतीका लागि आफुले सम्बन्धित निकाय धाइराखेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया