गाउँपालिकाको सहयोगमा स्वरुप फेरियो पादमघाट प्रहरी चौकीको

कालिकोट १ फागुन ,

जिल्ला सदरमुकाम मान्मदेखि पूर्वी भेक महावै गाउँपालिकाको केन्द्र पादमघाटमा रहेको प्रहरी चौकीले गाउँपालिकाको सहयोगमा स्वरुप बदल्न पाएको छ ।

जनयुद्धकाल २०५६ सालमा माओवादी नेता नेत्रविक्रम चन्द (विप्लप)को प्रत्यक्ष नेतृत्वमा गरिएको आक्रमणबाट ध्वस्त प्रहरी चौकीको लागि स्तरीय भवन निर्माण गरिएपनि एउटा भवन जीर्ण भएर जेबालोमा परिणत भएको थियो ।

जनतालाई शान्ति सुरक्षा दिनुपर्ने प्रहरीकै लागि भवनको समस्याले बसाई असुरक्षित भएको देखेपछि गाउँपालिकाले रु १५ लाख बजेट ब्यवस्था गरि स्थानीय कालिबहादुर शाही अध्यक्ष रहेको निर्माण उपभोक्ता समितिलाई भवन सम्पन्न गर्ने जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।

भवन निर्माणको कार्य सम्पन्न भएपछि गाउँपालिकाले आइतबार एक विशेष समारोहका बिच नवनिर्मित भवन प्रमुख जिल्ला अधिकारी जोरासिं माझी र प्रहरी नायव उपरीक्षक जयश्वर रिमाललाई हस्तान्तरण गरेको छ । भवन निर्माण कार्यक्रममा प्रहरी प्रशासनले गाउँपालिकाको प्रशंसा गरेको छ भने गाउँ पालिका अध्यक्ष खेमबहादुर सिंह लगायतका जनप्रतिनिधिहरुले पूर्वाधार निर्माणमा लगाएत आवश्यक सहयोगका लागि गाउँपालिका साथ र सहकार्यमा प्रतिबद्ध रहेको विश्वास दिलाउदै गाउँपालिकाबासीलाई भरपर्दो शान्ति सुरक्षा प्रदान गर्न प्रहरी प्रशासनलाई सुझाव दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया