जेसिबी गेटको अन्तर्य

कालिकोट १५ फागुन,

तेह्रौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड सञ्चालन भैरहेको फिल्डमा प्रवेश गर्दैगर्दा एकपटक अतिथिहरुलाई हाँसो लाग्छ ।

हाँसो अरु कुनै कारणले नभई अतिथि स्वागतका लागि  दुईवटा जेसिबीबाट बनाईएको गेटका कारण लाग्ने गरेको हो ।

कर्णाली राजमार्गको सुर्खेत – जुम्ला खण्ड अन्तर्गत बिर्तामोडदेखि पान्तडीसम्म ओरालो र पान्तडीदेखि खेल मैदानसम्म १ घण्टा उकालो हिडेर थकित अनुहारमा त्यो गेटले एकछिन आनन्दनै दिन्छ ।

कसैले गेटको कारण खिसिट्यूरी गरून् भनेर नभई त्यहींनेर उपलब्ध साधनको कलात्मक प्रयोगनै त्यसको कारण हुन सक्छ ।

जेसिबी भनेका गेट बनाउने साधन होइनन् । यधपी रनिङ सिल्डको लागि फिल्ड निर्माणको काम सकिएर त्यत्तिकै फिल्डमा राखिनुभन्दा गेट बनाइएको हुन सक्ने एकीकृत समाजवादीका एक स्थानीय नेताको भनाई छ ।

महावैको विकास र समृद्धिका लागि मेसिनहरुलाई त्यसरी आराम गर्न पाउने छुट छैन । कम्तिमा पनि निरन्तर रुपमा २ वटा जति मेसिन र सयौं स्थानीय जनशक्ति साविक गेला गाविस खण्डमा र २ वटा मेसिन शेरावाडा पादमघाट खण्डका साथै २ वटा मेसिन महावु पादमघाट खण्डमा सञ्चालन गरेर महावैको सडक समस्या चाडैं अन्त्य गर्न जरुरी रहेको स्थानीयहरु बताउँछन् ।

जेसिबी गेटबाट स्वागत गर्ने गाउँपालिका र जेसिबी गेटमा प्रवेश गर्ने विशेषगरी मन्त्री र माननीयहरुले महावै गाउँपालिकाको सडकको बेहाल अवस्था र पान्तडी एवम् शेरावाडामा पुल समयमै निर्माणमा चासो राख्नपर्ने स्थानीय बुद्धिजीबीहरु सचेत गराउँछन् ।

संघ तथा प्रदेश सरकारले प्रयाप्त बजेट व्यवस्था नगर्ने र गाउँपालिकाले सबै बजेट सडकमै केन्द्रित गरेपनि चट्टान छिचोलेर निरन्तर रुपमा मेसिन चलाई राख्न स्रोत नपुग्ने भएपछि जेसिबीहरु आराम गरेर बस्नु र गेट बन्नुको विकल्प देखिन्न ।

तपाईको प्रतिक्रिया