प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटकमा १ सय ७२ सांसदको समर्थन

काठमाण्डौं ६ चैत ,

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सोमबार दोस्रो पटकमा १ सय ७२ सांसदको समर्थनसहित विश्वासको मत प्राप्त गर्नु भएको छ ।

प्रतिनिधि सभाको चैत ६ गतेको बैठकबाट प्रधानमन्त्री दाहालले विश्वासको मत पाएका हुन्। विश्वासको मतको पक्षमा १७२ सांसदले मतदान गरे।

त्यस्तै, विपक्षमा ८९ सांसदले मत दिए। एक जना सांसद मतदानमा सहभागी भएनन्। प्रतिनिधि सभाको आजको बैठकमा २६२ जना सांसद उपस्थित थिए।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त दाहालले दोस्रो पटक विश्वासको मत लिएका हुन्। यसअघि उनले पुस २६ गते विश्वासको मत लिएका थिए।

उनी नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत ६ पार्टीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। राष्ट्रपति चुनावलाई लिएर गत फागुन १२ गते नयाँ गठबन्धन बनेपछि एमाले र राप्रपाले सरकारबाट बाहिरिंदै समर्थन फिर्ता लिएका थिए।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसैका आधारमा प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन्।

विश्वासको मतको पक्षमा नेकपा (माओवादी केन्द्र)सँगै नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका सांसदले मतदान गरेका छन्। यसको विपक्षमा एमालेका सांसदले मतदान गरेका छन्।

तपाईको प्रतिक्रिया