कालिकोट २१ चैत ,
नेकपा(एकीकृत समाजवादी) शून्य भयो भनिने कालिकोटको शुभकालिका गाउँपालिकामा समेत एकीकृत समाजवादीले ४१ सदस्यीय गाउँ अधिवेशन आयोजक कमिटी घोषणा गरेको छ ।
अन्य पालिकामा गाउँ कमिटी अधावधिक कार्यक्रम समापन भएर शुभकालिकामा पुग्दा त्यहाँ भने गाउँ अधिवेशनकै माग भएर तत्कालको लागि गाउँ अधिवेशन आयोजक कमिटी गठन भएको हो ।
एकीकृत समाजवादी जिल्ला कमिटी उपाध्यक्ष चित्रसिंह गाउँलेले आफू त्यहाँ पुग्दा कार्यकर्ताहरुले समाजवादीको बाटो पर्खिराखेको,एमालेबाट वाक्क दिक्क भएको र अन्त:त बरु अरु पार्टीमै लाग्न बाध्य हुने स्थिति देखेर सामान्य कमिटीको संरचना घोषणा गरेको जानकारी गराउनुभयो ।
जिम्मेवार नेताहरुको लस्करले पार्टीको बृहत् कार्यक्रम गर्न जरुरत ठानेपछि एकाएक अगुवा नेता गणेश सेजुवालको अध्यक्षतामा सानो भेला गरि नेता वीरेन्द्र बहादुर शाही संयोजक र बौद्धिक युवा शिवराज शाही सचिव रहेको आयोजक कमिटी बनेको बताइएको छ ।
कमिटीमा जय बहादुर शाही, दुर्गा शाही, नन्दा शाही, कमल सुनार, नानीभाउ परियार,सुरेन्द्र शाही लगायतका रहेको बताइएको छ ।
फेरि बृहत् कार्यक्रम गरेर अधिवेशन गर्नुनै उपयुक्त लागेको भन्दै शुभकालिका पुग्नु भएका उपाध्यक्ष गाउँलेले त्यहाँ पुग्दा एकीकृत समाववादी र एमाले मध्ये कुनै एउटा पार्टी रोज्न नसक्नु र माओवादीसहितको अघिल्लो एमाले गठबन्धन दुई कारणले तड्पिएका एमाले कार्यकर्ता देख्दा दया लागेको वताउनुभयो ।
एक्लै कुनै पार्टीको बहुमत नभएको देशमा सिट भन्दापनि पार्टीको भूमिका अर्थपूर्ण हुने भन्दै नेता गाउँलेले यतिबेला नेपालमा कुनै पार्टीको एकल बहुमत नरहेको हुँदा भूमिकाको आधार र विचारमा एकीकृत समाजवादी पार्टीको भविष्य मात्र उज्ववल रहेको प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य दान बहादुर विश्वकर्मा र कलम चिन्हबाट निर्वाचित ३जना जनप्रतिनिधि समेतको उपस्थिति थियो ।
नेपाल पहरा । २२ चैत्र २०७९, बुधबार ००:०१