चित्रसिंह गाउँले
” साह्रै राम्रा तम्रा ठौर – हुन्त जुवाई लाग्दो
लालीघाट उकालो सम्झे – जात्ती रुवाई लाग्दो ”
कुनैदिन लालीघाटको उकालो हुँदै नरहरिनाथ जानू पर्दाको पीडा यसैगरी गीतबाट दर्शाएको थिए मैले । यधपी अब लालीघाटको उकालोमा गाडी मार्फत पुग्न र नियाल्न सकिन्छ सुन्दर नरहरिनाथ ।
यसपटक नरहरिनाथ मात्र नभई कालिकोट समृद्धिको मेरुदण्ड सुनथरालीमा पत्रकार महासंघले ऐतिहासिक कार्यक्रम दियो । कुनै राजनीतक दलले दिने विशाल आमसभा भन्दा कम भएन त्यहाँको उपस्थिति ।
नेता एवम् कुनै राजनीतिक दल विशेषको खिसिट्यूरी जे जति गरिएपनि सुनथरालीको सुन्दर फोटो आम मान्छेहरुले यतिबेलै देख्न पायका छन् । सुनथराली चिनाउने थप स्रेयका लागि कर्णाली प्रदेश पत्रकार महासंघलाई विशेष धन्यवाद । थप धन्यवाद नरहरिनाथ गाउँपालिका समेतलाई ।
काम विशेषले टाढाको भूगोलमा हुनु परेर सुनथराली पुग्न नपाउदा आफैलाई लागेको दुख्ख र सुनथरालीले मिडीया मार्फत गरेको अपेक्षा यो आयोजनाले पूरा गर्न सकेन भन्ने मनमा लागेको सानो पिर शब्दमा लेखेको छु ।
त्यहाँ पुगेको मिडीयाले मञ्चमा बोल्दै गरेका नेताका तस्वीरमा रमाउन भन्दा सुनथरालीको भविष्य वारे चिन्तित भएर त्यहाँको सम्भावना र समस्या उजागर गर्न खासै सकेन कि भन्ने लागेको छ ।
केवल सामाजिक सञ्जालमा बुझि नबुझि रोइलो मच्चाउनेहरुका लागि एअरपोर्टको शिलान्यास देखि अहिलेसम्म योगदान दिएपनि छायामै रहेका व्यक्तिहरुले सामान्य धन्यवाद समेत नपाउनपर्ने होला र ? विगतका वर्षभन्दा पछिल्लो समयमा सरकार र कालिकोटको चाहे जुनसुकै दलको नेतृत्वको किन नहोस् सुनथराली सञ्चालनमा चासो र सक्रियता बढेकै छ ।
जसरी सदरमुकाम मान्मको ताडीमा एकाएक बसपार्क बनाउन सकियो त्यति सजिलो होईन एउटा साह्रै विकट वस्तिमा विमानस्थल बन्नु । आफ्नो खेतको सानो पगार गयो भने लाउन नसकेर तिउँदै छोड्नेहरु विमानस्थल बनाउन सकेनन् भनेर खोइरो खनिदिनु उचित नहोला । यधपी चाडैं प्लेन चलेर सररर यात्रा गर्न पाउने तिब्र चाहना र यतिका ढिलाई हुँदाको वितृष्णा पोख्नु उति नराम्रो होइन तर पुर्बाग्रहका पोका फुटाल्ने काम सुनथरालीलाई नबनाम है ?
पूर्व पर्यटनमन्त्री जीवन बहादुर शाहीलाई टेष्ट फ्लाईट समेत र प्रेम आले लगायतलाई काममा गतिदिन गरेको सक्दो सपोर्ट अनि एअर्पोट सञ्चालनका लागि र त्यहाँसम्म केवुलकार समेत चलायर एअरपोर्टको नियमिततातर्फ बल पुर्याउने प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाही लगायत नाम उल्लेख गर्न नसकेपनि अहिलेसम्म अतुलनीय योगदान दिने सबैलाई मेरो तर्फबाट सलाम छ ।
सुन्दर रामारोषण र वडिमालिकाको नजिकैबाट कर्णाली नदि अनि चुलीको चुचुरो हेर्दै पचालझरना, रारा एवम् मानसरोवर गन्तव्य समेतका लागि सहारा बन्ने सुनथराली एअरपोर्ट अब चाडैं सञ्चालन गरौं । एअरपोर्ट सञ्चालन र केवुलकार निर्माणमा लाग्ने नेतृत्वमाथि दबाब सृजना त गरौं तर उत्साहित बनाउन छाडेर गाली गरिहाल्ने बानी त्यागौं अलि सकरात्मक पनि बनौं । सुनथरालीको सामिप्यमा बृहत् फूकोट हाइड्रो र केवुलकार सञ्चालन हुनेनै छ । सुनथरालीबाटै रामारोषण र बडिमालिका पदमार्गसहितको सडकसमेत सञ्चालन भयो भने हाम्रो कालिकोट सुखारी कालिकोट त त्यसैदिनदेखि बन्न सक्छ । समृद्धि धेरै पर छैन , बरु लक्ष्य साकार पार्न अघि बढौं ।
नेपाल पहरा । २२ चैत्र २०७९, बुधबार ०८:२२