
केदारनाथमा कुल्ली बन्लान् भनेर कर्णालीवासी
जुम्ला पुगेर नागराजले
सिंजा राज्य चलाएका होइनन्
कुहिएको सेतो चावल खालान भनेर कर्णालीवासी
वर्षौंअघि इष्टदेव चन्दननाथले
जुम्लामा मार्सी फलाएका होइनन्
न कर्णालीले मार्सी खायको छ
न कर्णाली सयलमा बाँचेको छ
अझैं मधौरु छ कर्णाली ।
दुवाँलो बुझेर माछा मारेपछि भाग लाउनेहरुझैं
काञ्छोलाई सानो माछा भाग पार्लान भनेर
छैठौं प्रदेश मागेकै होइनन् यहाँका मुन्छेले
उहीँ ब्यथा उहीँ कथा रहने हो सुचेर
व्यवस्था सँगै अवस्था बदलिन्न ठानेर
जनआन्दोलन जनयुद्ध ताकेकै होइनन् यहाँका मुन्छेले
न ठूलो भाग पायो
न अवस्था फेर्यो
अझैं मधौरु छ कर्णाली ।
राज्य कब्जा गर्ने बहादुर शाहको सेना भन्दा
अझैं अराजकहरुको काँधमाथि बस्लान ठानेर
गाउँमै सिंहदरबार रोजेको होइन यहाँको माटीले
कसैका पेट भोका अनि कसैका महल ठडिने गरेर
कमिसनै कमिसनको खेलो सिकाउन भनेर
टोलटोलमा डोजर खोजेको होइन यहाँको माटीले
न भोकाहरु मुस्कुराय
न भूमि सङ्लो रहे
अझैं मधौरु छ कर्णाली ।
उत्तरतिरको विकासे लहर चाइनाको
मानसरोवर नाघेर आउन नसकेपछि
धन्नधन्न कोहलपुरसम्म पुगेको गणतन्त्र
बबई पुगेपनि हर्रेको उकालो धाउन नसकेपछि
गरिवीका जब्बर मुडाहरुलाई
तिला कर्णाली र भेरीले बगाउन नसकेपछि
यार्शा काइनाइट र कस्तुरी लिलाममा फालेर
ती दिन् देखि यी दिन् सम्म
राजतन्त्र देखि गणतन्त्र सम्म
अझैं नयाँ व्यवस्थाको खोजीमा
सुनौलो समाजवादकै प्रतिक्षामा
साँच्चिकै सुनौलो बिहानीको आशामा
अझैं मधौरु छ कर्णाली ।।
नेपाल पहरा । १५ जेष्ठ २०८०, सोमबार ११:१७