भगवती शाही
कालिकोट ३ साउन । कर्णाली प्रदेश देउडा प्रतिष्ठान नेपालद्वारा कालिकोट सदरमुकाममा आयोजित बृहत् देउडा खेल प्रदर्शन कार्यक्रम सोमबारदेखि सुरु भएर मंगलबार ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।
एउटा व्यवस्थित र भव्य एवम् अविश्मरणीय महोत्सवकै रुपमा दिवस सम्पन्न भएर बुधबार बिहान जिल्ला बाहिरदेखि आएका पाहुना देउडा खेलाडीहरुलाई स – सम्मान बिदाइको तयारी भैरहेको आयोजकले जनाएको छ ।
देउडा दिवसको मुख्य उपलब्धी भनेको देउडाको संरक्षण र प्रचारप्रसार सहित सामाजिक जागरण, प्रतिष्ठान दर्ता र वर्षौंदेखि देउडामा जीवन विताएका खेलाडीहरुलाई सम्मान गर्नमा सफलता पाइएको प्रतिष्ठानका उपाध्यक्ष पुष्पराज आचार्यले जानकारी गराउनुभयो ।
उहाँका अनुसार प्रतिष्ठानले पहिलो वर्षकै कार्यक्रम मार्फत पुराना र वरिष्ठ देउडा खेलाडी पुर्ण बहादुर शाही , मयाराम आचार्य , धनबहादुर मल्ल , गोरख शाही , कर्ण बहादुर शाही दैलेख, ज्ञानबहादुर शाही , बलिराम देवकोटा,गंग रावल , मनप्रसाद न्यौपाने, भानुप्रभात पाण्डे लाई सम्मानित गरेको छ ।
प्रतिष्ठानबाट देउडा खेलाडी लालचन्ना पाण्डे , पाना बुढा , कमला धामी , पश्चिमा वम , विपना भण्डारी, सुशिला गिरी , कलन्दरी अधिकारी , विमला बोगटी , कर्मा बोगटी , अविसरा पाण्डे समेत सम्मानित भएका छन् । अनवरत रुपमा देउडामा लागेर जीवन विताउने खेलाडी सँगसँगै प्रतिष्ठानले प्रोत्साहन स्वरुप नयाँ र उदयमान देउडा खेलाडीको रुपमा महावै – ४ निवासी लोकप्रिय देउडा खेलाडी विपना सिंहलाई बाल देउडा खेलाडीको रुपमा सम्मानित गरेको छ भने कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिं माझीको भूमिकाबाट उत्साहित हुँदै प्रतिष्ठानले उहाँलाई विशेष सम्मान गरेको छ ।
देउडा सम्राट एवम् प्रतिष्ठानका अध्यक्ष नेत्रराज शाहीको अध्यक्षता र कर्णाली प्रदेशसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका सचेतक हिक्मत बहादुर बिष्टको प्रमुख आतिथ्यता अनि जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित बहादुर शाहीको विशेष आतिथ्यतामा भएको देउडा दिवस साहित्यकार कृष्णराज धमलाले सञ्चालन गर्नुभएको थियो ।
देउडा दिवसले देउडा खेलाडीहरुलाई सम्मान गर्ने र उनीहरुको अस्तित्व समेत जगेर्ना गर्ने काममा पाइला चालेको भन्दै खेलाडीहरुमा उत्साह जगाएको छ भने कालिकोटवासीहरुले वर्षेयाममा समेत ऐतिहासिक मनोरञ्जन प्राप्त गरेका छन् ।
पूर्णबहादुर शाहीदेखि विपना सिंह समेत थुप्रै देउडा खेलाडी सम्मानि
नेपाल पहरा । ३ श्रावण २०८०, बुधबार ०९:५७