कालिकोट ७ साउन । नेकपा(एकीकृत समाजवादी)केन्द्रीय सदस्य बिजया बिष्टले पुष्पलाल श्रेष्ठ केवल नेकपा को संस्थापक महासचिव मात्र नभई सिद्धान्तकार र दुर्दर्शी नेता समेत भएको दाबी गर्नुभएको छ ।
पुष्पलालको स्मृति दिवसको सम्झनामा आइतवार मान्ममा सम्पन्न विचार गोष्ठीलाई सम्बोधन गर्दै कन्द्रिय सदस्य बिष्टले कम्युनिष्ट पार्टी स्थापना बेगर सामन्तवाद अन्त्य असम्भव छ भन्ने पुष्पलालको सिद्धान्त ऐतिहासिक रहको समेत उल्लेख गर्नुभयो । नेपाली कांग्रेस समेतको सहकार्यमा मात्र पञ्चायतलाई पल्टाउन सकिन्छ भन्ने पुष्पलालको दुरदृष्टि ०६२/०६३ को संयुक्त जनआन्दोलन सम्ममा समेत पुष्टि भएको भन्दै उहाँले पुष्पलालको उच्च प्रशंसा गर्नुभयो ।
एकीकृत समाजवादी जिल्ला कमिटी उपाध्यक्ष तथा पुष्पलाल स्मृति प्रतिष्ठान कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय परिषद् सदस्य लालबहादुर मल्लले कम्युनिष्ट पार्टी व्यक्ति भन्दापनि नीति प्रधान हुनुपर्छ भन्ने विचार अघि सार्नु भएका पुष्पलाल विचार सँगसँगै व्यवहारमा पनि सच्चा कम्युनिष्ट भएको उल्लेख गर्नुभयो ।
जिल्ला सदरमुकाममा उपलब्ध नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा संस्थापक महासचिव पुष्पलालको सपना साकार पार्न देशका सच्चा कम्युनिष्टहरु एकतावद्ध हुन जरुरी रहेकोमा जोड दिइएको थियो । कार्यक्रम पार्टी उपसचिव कृष्णकला पाण्डेले सञ्चालन गर्नु भएको थियो ।
नेपाल पहरा । ७ श्रावण २०८०, आईतवार ०९:४२