समाजवादी आन्दोलनमा खोरेत लाग्न नदिउ

   

    चित्रसिंह गाउँले
 खोरेत छोटो समयमै महामारीको रुपमा फैलिन सक्ने पशुचौपायमा लाग्ने रोग हो । पशुहरुका खुर पाकेर हिन्न नसक्ने बनाउने मात्र नभई ब्याउने पशुहरु तुहाउने र पशुको ज्यान समेत लिन सक्ने रोग हो खोरेत । खोरेत लागेको गोरुबाट जसरी खेती गर्न असम्भव छ त्यसैगरी खोरेत लागेको राजनीतिक नेतृत्वबाट क्रान्ति सम्भव हुन सक्दैन । राजनीति मध्येपनि समाजवादी आन्दोलन त खोरेत लागेको नेतृत्वबाट कल्पनै गर्न सकिन्न ।
    नेतृत्वमा खोरेत भनेको उमेर अवस्था र चेतनाको साथै नेतृत्वको आनीबानी समेतमा देखा पर्ने गर्छ । नेपालमा सामन्ती शाषण व्यवस्थाको अन्त्य भई प्रजातान्त्रिक व्यवस्था हुँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुचारु हुँदापनि नेतृत्वमा खोरेत देखापर्न छुटेको छैन । अझै भन्ने हो भने राजतन्त्र हटिसकेपछि हिजोका राजाका मान्छेहरुमा देखिनु शाषकीय चरित्र मात्र नभई लुट र मनपरी अहिले दल तथा दलका नेताहरुमा देखा पर्न थालेको छ ।  अन्य दल त परै जावस् जनवादी व्यवस्थाका पक्षधर कम्युनिष्ट पार्टीहरुलाई समेत खोरेत लागेको नेतृत्वबाट जोगाउदै समाजवादी आन्दोलन अगाडि बढाउन यतिबेलाको ज्वलन्त आवश्यकता हो ।
   मुख र खुर पाकेर खोरेत रोग लागेका पशुबाट जसरी सावधानी अपनाइन्छ त्यसै गरि भ्रष्टाचार लगायतका कुकार्यमा सरिक नेतृत्वबाट सजग हुँदै वैचारिक रुपमा समाजवादी कार्यदिशा अँगालेको पार्टी र नेतृत्वका पछि लामबद्ध भएर समाजवादी क्रान्ति अघि बढाउन सकिन्छ । समाजवादको लक्ष्य बोकेका क्रान्तिकारी पार्टीहरुले नेतृत्व साँच्चिकै क्रान्तिकारी र उर्जाशील प्राप्त गर्न सकेको हुनुपर्छ । उर्जाशील नेतृत्व बुढ्यौलीवाला नभई युवापङ्तीबाट मात्र सम्भव छ । बुढा नेताहरुको अनुभव र हौसलाका साथ युवा नेतृत्वको उर्जा , सृजनशीलता सहितको संघर्षबाट क्रान्ति हाँक्न नसकिने भन्ने हुन्न ।
   माक्सले कम्युनिष्ट घोषणापत्र सार्वजनिक गरेर अघि बढ्दा युवा अवस्थामा थिए । लेनीनले कम्युनिष्टहरुको संगठनात्मक सिद्धान्त प्रतिपादन गरिरहँदा होस् या नेपालमा क्रान्ति हाँक्ने पुष्पलाल,मदन,प्रचण्ड समेतका नेताहरुले युवा अवस्थामै क्रान्तिका लागि सफल विचार र नेतृत्व दिएको दृष्टान्त हाम्रो सामु छँदैछ । बिहानीको उदाँउदो सूर्यका रुपमा रहेको युवा पङ्ती सफा दिलका साथ राजनीतिमा सरिक भई नेपाली राजनीतिमा पोतिएको फोहोरलाई सफा गरेर समाजवादी क्रान्ति मार्फत मुलुक समृद्धिमा अग्रसर हुन अब विलम्व गर्नै हुन्न । यसका लागि मुख्यतया दलको रोजाइको विषय जो छ , युवाहरुले अब एकीकृत समाजवादीलाई बलियो बनाउन जरुरी छ । जतिजति एकीकृत समाजवादी बलियो हुन्छ उत्तिकै समाजवादी आन्दोलन सशक्त हुने र हालसम्मका राजनीतिक उपलब्धि पनि सुरक्षित हुने निश्चित छ ।
   २००६ सालदेखि सुरु भएक‍ो लोकतान्त्रिक क्रान्तिको युगलाई ०६२/०६३ को शान्तिपूर्ण जनक्रान्ति सम्पन्न गरि समाजवादी क्रान्तिको युग सुरु भैरहँदा यहाँसम्म अविचलित रुपमा नेतृत्व एकीकृत समाजवादीले गरेको छ । धन्न धन्न हालको एमाले नेतृत्वद्वारा २ पटक संसद बिघटन गरेर नेपाली जनवादी क्रान्तिका उपलब्धी डुबानमा पार्न खोजिरहदा यही एकीकृत समाजवादीले विद्रोह मार्फत देशको शाषण व्यवस्था र संविधानलाई लयमा ल्याउन सफल नेतृत्व गरेको समय साँक्षी छ । वर्तमान सत्ता गठबन्धनमा सामेल दलहरुको ऐतिहासिक योगदानपनि छ व्यवस्था जोगाउने सन्दर्भमा । यधपी अब भने दलाल पुँजीवाद , साम्राज्यवाद र नवउपनिवेशवादका बिरुद्ध श्रमिक वर्ग,किसान समुदाय र निम्न पुँजीपति वर्ग एवम् देशभक्त समाजवादीहरु एकत्रित भई देशका बिधमान चुनौती सामना गर्न सफल हुनैपर्छ ।
   हामीलाई यी चुनौती सामना नगरी बस्ने छुट छैन । पुराना पार्टीहरु सच्चिन जरुरी छ भने एकीकृत समाजवादी पनि खोरेत लागेको गोरुकै लयमा लुलो जस्तो देखिने गरेर आफ्ना गतिबिधि चलायमान नगरी बस्न मिल्दैन । एउटा शक्तिशाली , राष्ट्र व्यापी र लोकप्रिय कम्युनिष्ट पार्टीका साथै समाजवाद पक्षधरहरुको व्यापक संयुक्त मोर्चा र वर्ग संघर्ष बिना समाजवाद सजिलै सम्भव छैन । अब यतिबेला कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु बिच जुन मोर्चाको प्रयत्न छ यसलाई कसिलो र सार्थक बनाउ । सरकार र संसदीय गतिबिधि क्रान्तिकारी बनाउनमा ध्यान दिम । हाम्रा गतिबिधिले कांग्रेस समेतमा रुपान्तरण र एमालेमा अधिनायकवादी नेतृत्व परिवर्तनमा समेत दबाब पुग्नेछ । सल्बलाउन थालेका प्रतिक्रियावादी सामन्ति शक्तिहरु टाउको उठाउन नपाउने भनेकै हाम्रा एकताबद्ध र लोकप्रिय कार्यक्रमका कारणले हो । कम्युनिष्ट समाजवादी शक्तिहरु विचका मनमुटावहरु अन्त्य गरेर पार्टी भित्रका गलत प्रवृतिहरुलाई धोई पखाली गरेर नेपालको वाम आन्दोलन र समाजवाद प्राप्तिको रोडम्याप फराकिलो गरौं ।
   नेपाली नमुनाको समाजवाद कस्तो बनाउने भन्ने कार्यनीति तय गरेर त्यस आधारमा विशेषत : समाजवादी मोर्चालाई हिनालौं ।            कृषि,सिंचाई,उधोग,शिक्षा, स्वास्थ्य,सञ्चार,बिधुत्,पर्यटन,खानेपानी,पारवहन,गरिवी उन्मूलन र रोजगारी व्यवस्थापन,यातायात,वातावरण संरक्षणमा केन्द्रित बनौं । यतिले मात्रपनि पुग्दैन । नेपालका सन्दर्भमा हिमालयको संरक्षण, जडिबुटीको थप विकास र प्रशोधन,वन्यजन्तु र वन संरक्षण,व्यापार र वितरण प्रणालीमा सुधार, आवासको प्रवन्ध,जोखिमपूर्ण वस्तिहरु पुन : व्यवस्थित गर्ने विशेष नीति आवश्यक छ । आम रुपमा समाजमा समाजवादी साँस्कृतिक आन्दोलन विस्तार सहित मान्छेद्वारा मान्छेमाथिको शोषण अन्त्यको नेतृत्व समाजवादी पार्टीहरुले गर्न सक्नै पर्छ । अन्तिममा वैज्ञानिक साम्यवादमा पुग्ने लक्ष्यसहित समाजवादको यात्रा थालनी गर्नुपर्दा हामीले किसानको हित सहित वैज्ञानिक भूमि सुधारमा जोड दिनैपर्छ । अन्य हरेक विषयमा क्रान्तिकारी कदम चाल्नै पर्छ । समाजवादको यात्रामा बामपंथीहरु एक भएर अघिबढ्न खोजेर समाजवादको चाहना राखिरहेका एमाले कार्यकर्ताको मुखमा केपी प्रवृतिबाछ लगाइएको ताला हामीले खुलाउन सक्नुपर्छ । गासवास लगायतका सबै अधिकार समाजवादमा मात्र सुनिश्चित हुन्छ भन्ने विषयमा सबैमा चेतना बाँढ्दै पुँजीवादकै गर्भबाट जन्मेपनि समाजवाद पुँजीवाद भन्दा धेरै भिन्न र राम्रो व्यवस्था हो भन्ने हामीले सबैका मनमनमा छाप पार्न सक्नुपर्छ । खोरेत लागेको नेतृत्व लाई पञ्छाउदै माक्सवाद,लेनीनवादको मार्गदर्शनमा कम्युनिष्ट पार्टीको बुद्धिमतापूर्ण र योजनाबद्ध प्रयत्न एवम् कुशल नेतृत्व र आम जनताको साथ , सहयोग , समर्थन र सहभागितामा हामी समाजवाद ल्याउन सफल भैछाड्ने छौ । यसका लागि चाडैं एउटा क्रान्तिकारी लहर ल्याउ , तीनै तहका सरकारबाट समाजवादका आधार तयार हुने कार्यक्रम ल्याउ । पार्टीका प्रशिक्षणहरु आधारभुत तहसम्म पुगाउ , सेवा सुविधा प्राप्तिमा म र मेरा भन्ने भावना त्यागेर हामी भन्ने सोचलाई लागू गरेर अघि बढौं ।
तपाईको प्रतिक्रिया