सुर्खेत २८ असोज । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार नेकपा(एकीकृत समाजवादी)को विशाल सभा सम्पन्न भएको छ ।
पार्टीका प्रदेश कमिटी अध्यक्ष अम्मर बहादुर थापाको अध्यक्षता र केन्द्रीय कमिटी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
वीरेन्द्रनगर नगरपालिकाको मंगलगढीचोकदेखि बाजागाजा तथा बिभिन्न साँस्कृतिक झाँकीसहित पिपलचौतारा पुगेर सभामा परिणत उक्त कार्यक्रममा बोल्दै वक्ताहरुले समाजवादी जागरण अभियान मार्फत मुलुकमा आर्थिक रुपान्तरण सहित नयाँ व्यवस्था ल्याउने अभियान थालनी भएको दाबी गरेका छन् ।
जम्मा १५ दिनका लागि गरिएको अभियानका क्रममा देशभरबाट ५ हजारभन्दा बढी विभिन्न पार्टीका कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरेको प्रवक्ता जगन्नाथ खतिवडाले वताउनुभयो । सभालाई महासचिव घनश्याम भुसाल , उप महासचिव प्रकाश ज्वाला , विजय पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रममा पार्टी प्रदेश सचिव कृष्ण विसीले सञ्चालन र उपाध्यक्ष ठकेन्द्र पुरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
नेपाल पहरा । २८ आश्विन २०८०, आईतवार १७:५०