
कालिकोट ७ कार्तिक । कालिकोट जिल्ला महावै गाउँपालिकाको ओदा गाउँ स्थित दलित बस्ती दुइदिन् यता सुनसान छ ।
हिडेर अर्को गाउँ पुगी फर्किन नसक्ने नाबालक बच्चाबच्ची , बृद्ध र अशक्त बाहेक दलित बस्तिमा दुइदिन् यता कोही छैनन् ।
दलितहरु सबै एकढिक्का भएमा वडा अध्यक्ष समेत सजिलै जित्न सक्ने जनसंख्या भएपनि दशैंको दिन् समेत ओदाका दलितहरुको आफ्नो घरमा बितेन । गाउँपालिकामा निर्वाचित प्रथम अध्यक्ष नन्दबहादुर सिंह र वर्तमान अध्यक्ष खेमबहादुर सिंहको आँगनमा दशैं रमझम चलिरहदा दुइघण्टा टाढाको दलित बस्तिबाट उनीहरुको घरमा पुग्दै अन्नपात माग्ने क्रम चलिरहेको थियो दलितहरुको ।
हुनत परम्परादेखि चलिआएको प्रथा भएपनि लोकतान्त्रिक गणतन्त्र र गणतन्त्र पश्चातका स्थानीय सरकारले समेत दलितलाई दशैंको दिनमा समेत मागेर खानुपर्ने अवस्था अन्त्य गर्न नसकेको दलित अगुवाहरु बताउछन् ।
गाउँपालिकाका पूर्व अध्यक्ष र वर्तमान अध्यक्षको घर नजिकै लस्कर लागेर अन्नपात माग्न आयका दलित महिलाहरुको अवस्था देख्दा आफुलाई दया लागेर आएको नेकपा(एकीकृत समाजवादी)कालिकोटका उपाध्यक्ष चित्रसिंह गाउँले पुत्री विपना सिंहले बताइन् ।

उनीहरुलाई देखेपछि आफुले ” गाउँपालिका सत्ता हाँक्ने जस्ता पायापनि , दलितलाई सुबिधा छैन दशैं आयापनि ” भन्ने गीतसहित टिकटक बनाएर एकमुष्ठ सामान्य सहयोग गरेको विपनाको भनाई छ ।
मुगुको रारा छायाँनाथ नगरपालिकाले दलितहरुलाई दशैंभत्ता उपलब्ध गराए जस्तै महावै गाउँपालिकाले सकभर प्रत्येक दलित घरपरिवारको लागि आयआर्जनका कार्यक्रम लागू गर्न सक्नपर्ने र त्यति गर्न नसकेपनि दशैंको दिनमा समेत दमाह बोकेर , थैला समायर गाउँगाउँ धायर अन्नपात माग्ने चलन अन्त्य गर्नपर्नेमा जोड दिइएको छ ।
महावैमा बसोबास गर्दै आएका अधिंकास दलित दशैंको अघिल्लो नवमीको दिन् र दशमीको दिन गाउँमा मागेर प्राप्त अन्नपात र मासु समेतमा भरमा दशमीको भोलिपल्ट मात्र दशमी मनाउने गर्दछन् । चुनाव नजिक आएपछि भने महावैका दलितहरुका घरघरमा पुगेर भोट माग्ने कुरामा स्थानीय अन्य जातका नेताहरु खुबै अग्रसर हुने गरेको बताइएको छ ।
यसअघि महावैको स्थानीय सत्ता नेपाली कांग्रेसले नेतृत्व गरेको हुँदा त्यति धेरै अपेक्षा नगरिएपनि यतिबेला शत् प्रतिशत कम्युनिष्ट सत्ता सञ्चालन हुँदा समेत दलितहरुको कथा व्यथा पुरानै अवस्थामा रहेको देखिन्छ । दलितहरु दशैं नमानेर अन्य जातिका मान्छेको घरमा रहरले नभई बाध्यताले दशैं नमानेर माग्न जाने गरेको र त्यसरी जादापनि उल्टै अपहेलना व्यहोर्नु परेको दशैं मान्न छोडेर अन्य जातका मान्छेबाट पीडा झेलेका एक दलितले दुखेसो पोखे ।
नेपाल पहरा । ८ कार्तिक २०८०, बुधबार ०९:०९