काठमाडौँ — विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्क सहरमा सांघातिक आक्रमण भएको छ । न्युयोर्कमा एउटा कार्यक्रममा बोल्ने क्रममा रुस्दीमाथि आक्रमण भएको हो । आक्रमणपछि रुस्दी भुइँमा ढलेका थिए । रुस्दी भुइँमा ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मन्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पनि पोस्ट भएका छन् ।
प्रहरीले छुरा प्रहार भएको बताए पनि पीडितको नाम भने सार्वजनिक नगरेको एएफपीले जनाएको छ । साथै रुस्दीको स्वास्थ्य अवस्थाको बारेमा तत्कालै जानकारी प्राप्त हुन नसकेको बताइएको छ ।
भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट विश्वप्रसिद्ध भएका थिए । सो किताव बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । ७५ वर्षीय रुस्दीले हालसम्म चार पुस्तक लेखेका छन् ।
सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उनी नौ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । उनले लेखेको पुस्तकले धार्मिक अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो ।
पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै उनको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए । पुस्तक प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा दर्जनौं मानिस मारिएका थिए । जसमा पुस्तकका अनुवादक पनि थिए । रुस्दीविरुद्धको टाउकाको मूल्य अहिले पनि कायम छ ।
विश्वप्रसिद्ध लेखक रुस्दी माथि अमेरिकामा आक्रमण
तपाईको प्रतिक्रिया
नेपाल पहरा । २७ श्रावण २०७९, शुक्रबार २२:०७