राहु , केतुले सताएको एमाले र आगामी चुनाव

चित्रसिंह गाउँले
सत्ता गठबन्धनले निर्वाचन टार्न खोजिरहेको छ भन्ने प्रतिपक्षी एमाले आरोपका बिच स्थानीय तह निर्वाचन सम्पन्न भैसकेको छ । निर्वाचन भएको खण्डमा पाँच दलीय गठबन्धनका दलहरु एकएक केजीको हिसाबले ५ केजी र एमाले सिंगै एक क्वीन्टल साबित हुने भनेर गरिएको उद्घोष केवल गफाडी गफ साबित भएको छ । सरकारले फेरि मंसिर ४ गते संघ तथा प्रदेश सभाको निर्वाचन तोकेर निर्वाचन आयोग र राजनीतिक दलहरू तिब्र तयारीमा जुटिसकेका छन् । मंसिरको निर्वाचन परिणाम कस्तो आउला भन्नेमा विभिन्न अध्ययनका निष्कर्षहरु सार्वजनिक भैरहेका छन् । ती निष्कर्षहरुले एमाले स्थानीय तह निर्वाचन भन्दा झनै कमजोर हुने अनुमान गरिरहेको जग जाहेर छ ।
एमाले सामु निर्वाचन जित्ने र बलियो बन्ने एउटै अस्त्र भनेको वर्तमान सत्ता गठबन्धन टुटाउन सक्नु हो । गठबन्धन टुटाउने बस्कत नै नभएको देखिएपछि अझै बलियो बन्दै गइरहेको गठबन्धन सँग भिड्न एमाले एक्लै पाखुरा सोर्न थालेको देखिन्छ । पार्टीका बैठकहरु मार्फत राष्ट्रव्यापी प्रभाव र सन्देश छर्न पार्टी अध्यक्ष केपी ओलीकै नेतृत्वमा निर्वाचन परिचालन समिति पनि बनाएको छ एमालेले । जतिसुकै तयारी गरेपनि एमालेले सत्ता गठबन्धन सामु निकै कमजोर देखिनुको विकल्प छैन । समानुपातिक तर्फ आउने सिट संख्या बाहेक एक्लै उठे ९ सीट र राप्रपाको साथै राप्रपा नेपाल समेतले साथ दिएमा १७ सीटको पार्टी बन्ने देखिन्छ एमाले । २०७४ को निर्वाचनमा प्रत्येक्षतर्फ मात्रै ८० सीट जितेको एमाले यसपटकको निर्वाचनमा प्रत्येक्षतर्फ सो पार्टीबाटै बिभाजित एकीकृत समाजवादी भन्दा कमजोर हुने निश्चित छ ।
राहु र केतुको प्रभाव
२०७७ पुुस ५ गते केपी ओलीबाट पहिलोपटक संसद भंग गरियो । हुँदाखादाको बलियो कम्युनिस्ट पार्टीका अध्यक्ष र दुई तिहाइ नजिकैको बहुमत सांसद संख्या गुमाउनमा मुख्य जिम्मेवार केपी ओली र एमाले यतिबेला त्यत्तिकै कमजोर भएको होइन । एमालेलाई राहु र केतु ग्रहले सताएको कारण यो हालत बनेको हो । शरीरको माथिल्लो भागमा समस्या सिर्जना भएको खण्डमा राहु र तल्लो खण्डमा समस्या देखिएमा केतु ग्रहलाई कारण मानिने ज्योतिष शास्त्रले बताउँछ । अहिलेको एमाले र ओली माथिल्लो र तल्लो दुबै खण्डमा समस्या ग्रस्त छन् । एमाले नत स्थानीय र प्रदेश तह सङ्लो छ न संघीय तहमा बलियो छ । जताततै समस्या देखिने एमालेले तत्कालै राहु र केतु ग्रहको विधि गर्नुपर्ने हो । १ सय ८ पटक जाप गर्ने , माता दुर्गा भवानी र भैरवको आराधना गर्नुका साथै आठमुखे रुद्राक्ष पहिरन र धातु तथा अन्नदान लगायतका विधि अपनाएको खण्डमा एमालेले राहु र केतुबाट मुक्ति पाउन सक्छ । यधपी दशाग्रह अलि लामै बसेको कारण यसै छुट्कारा मिल्ने स्थिति देखिदैन ।
हुनत नेपालको कम्युनिस्ट आन्दोलन समेतमा क्षति पुगेपनि खास गरि एमालेको राहु भनेको मध्य रातमा बालुवाटार पुगेर केपी भेटेका भारतीय गुप्तचर सामन्त गोयल , केतु भनेका तत्कालीन नेकपा भित्र नारदको भूमिकामा रहेका दस बुँदेका साथै केपीको किचन क्याबिनेटमा रहेका विशेष पात्रहरू नै हुन् । त्यसमाथि मुख्य भूमिका भनेको केपीमा रहेको दम्भ र अहंकार मुख्य कारण बन्यो । पछिल्ला अध्ययन लाई र स्थानीय तह एवम् ०७४ को मतभारलाई विश्लेषण गर्दा एक्लाएक्लै चुनाव लडेको खण्डमा त एमाले ७९ सीट र कांग्रेस ६९ सीट जित्ने आँकलन छ । एमालेसहितको बाम गठबन्धन बनेर अहिलेको सत्ता गठबन्धन टुटेमा बामपंथी गठबन्धन १ सय ५० , मधेसी ९ र कांग्रेस ६ सीटमा थन्किने देखिन्छ । त्रिपक्षीय गठबन्धन भएमा केही अन्य दलसहित एमाले ८९ , कांग्रेस – लोसपा मिलेमा ४४ र माओवादी – समाजवादी लगायतले ३० सीट जित्ने अनुमान छ ।
कांग्रेस जोगिने कि,जाकिने ?
केन्द्रीय समिति बैठकबाट नेपाली कांग्रेसले सत्ता गठबन्धन आबद्ध दलहरुसँग तालमेल सहित आगामी निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । यधपी पाँच वर्ष स्थीर सरकार त्योपनि कांग्रेस नेतृत्वमै भन्ने शर्तपनि कांग्रेसबाट तेर्सिएकै छ । काँध थाप्नेहरुको पासमा बल कति छ र उसको नियत केछ भन्ने नबुझेर काँधमा चढेको ब्यक्तिले घमण्ड गर्नु उचित हुँदैन भन्ने कांग्रेसलाई राम्रोसँग हेक्का हुनुपर्ने हो । मंसिर २ गते निर्वाचन गर्न निर्वाचन आयोगले मिति सिफारिस गरेकोमा ४ गते गर्नुपर्ने देउवाका ज्योतिष ले सल्लाह दिए भने अनुसार देउवाको भाग्यसँग कांग्रेसको भाग्य जोडिएको कारणले मात्रै हो नत्र शेखर र गगनहरु काँग्रेसलाई ” न बा छन् न बा को समाउन्या छ ” को हालतमा पुर्याउन बेर गर्ने थिएनन् । यो समयमा कांग्रेस सत्ता गठबन्धनको मुख्य घटक हुनुको कारण थप जिम्मेवार बन्न पर्छ । कांग्रेसमा थप मात चढ्नु उपयुक्त हुने छैन । माओवादी केन्द्र विशेषगरी प्रचण्ड सत्ता नेतृत्वमा नभएको पाँच वर्ष पुग्दैछ । प्रचण्ड अस्थिर छन् भन्ने आरोप लगाउनेका सामु यो धैर्यतालाई कम आँकलन गर्न सकिन्न । यतिबेला प्रचण्डको लागि बालुवाटारको ढोका प्रवेश धेरै ठूलो कुरा छैन । यतिबेला सबै मिलेर मुलुकमा स्थिरता दिउँ । सत्ता गठबन्धन ले स्थानीय तह निर्वाचन परिणामलाई मध्येनजर गरेर गठबन्धन थप कसिलो गर्दै लोकप्रिय उम्मेदवार मैदानमा अघि सार्ने काम गरोस् । अर्को विषय देशलाई निर्वाचन देखि निर्वाचनसम्म मात्रै केन्द्रित गर्ने नभएर विकास र समृद्धिमा डोर्याउने भिजनपनि यो गठबन्धनमा आवश्यक छ । एमसिसी, एसपीपी बाट टाढा रहँदै सन्तसलित परराष्ट्र नीति र देशको गरिबी उन्मुलन लाई गठबन्धनले मुख्य प्राथमिकतामा राख्दै मुलुकको व्यवस्था जोगाउने अठोटका साथ अघि बढौं । व्यक्तिगत र दलगत स्वार्थ भन्दापनि राष्ट्रहितमा ध्यान दिउँ ।
लेखक :- नेकपा (एकीकृत समाजवादी) कालिकोटका उपाध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया