प्रताप ओली ।
मर्नु पर्दछ एक दिन प्राणीलाई
रिस राग छोडी गर्नु सबको भलाई
कर्मै मुख्य व्यवहारको यही हो
भन्ने लाग्छ अल्पवुद्धि मलाई
जय पृथ्वी नाम मेरो त भाई
लेखे केही कनीकुथी जमाई
साँचो झुटो भन्नुहोला तपाईँ
यही मेरो जन्म भरको कमाई
जयपृथ्वीबहादुर सिंह राजा, मानवअधिकारकर्मी, लेखक, पत्रकार, शान्ति अभियान्ता, समाजसेवी मात्रै होइनन् उनी एक कवि पनि हुन् । यी कविता हरफ उनकै कविताबाट साभार गरिएका हुन् ।
एउटा सानो बाइसे राज्य बझाङमा वि.स. १९३४ भाद्र ७ गते जन्मिएका जयपृथ्वीबहादुर सिंह मानवतावादी दर्शनका प्रणेता हुन् । राजा जयपृथ्वीले गरेका काम र उनका बारेमा सबैलाई आधाआधी ज्ञात छ । हामी जयपृथ्वी नेपाल अर्थात् बझाङ छोडेर किन भारत छिरे, भारतमा रहँदा के के गरे, भारतका कुन–कुन ठाउँमा बसे भन्ने विषयमा चर्चा गर्नेछौं ।
जयपृथ्वी किन छिरे भारत ?
एउटा विकट राज्यमा जन्मेर पनि विश्वलाई मानवतावादको सन्देश दिएका राजा जयपृथ्वीलाई आधुनिक नेपालले बिर्सिएजस्तै तत्कालीन राणा शासकहरूले पनि उनका क्रियाकलाप सहन गर्न सकेनन् । उनकै ससुरा चन्द्रशमशेरलगायत राणाहरूबाट देश छोड्न दबाब मात्र बढेन, उनको जात च्यूतसँगै उनकी पत्नीलाई उनीबाट छुटाइयो ।
त्यसपछि जयपृथ्वीले बुबा बिक्रमबहादुरलाई पुनः राजगद्धीमा राखेर भारतको नैनीताल सरे । त्यहाँ जयपृथ्वी करिब ८ वर्ष बसे । त्यहाँ रहँदा मानवतावादका लागि एक पाण्डुलिपी तयार पारे । पारिवारिक जीवनबाट टाढा भएर कठोर र एक्लो जीवन बिताउन बाध्य पारिएका उनले आफ्ना ससुराको मृत्यु पश्चात् मात्र नेपालमा पुनः पाइला टेके ।
बुबाको मृत्यु भएपछि उनी राजगद्धीमा बसे तर केही समयमै फेरि आफ्ना भाईलाई राजा बनाएर उनी पत्नीसहित भारततिरै फर्किए । दोस्रो पटक उनी भारतको दक्षिणतिर लागे र महात्मा गान्धी, आलिया बेगान र अन्य भारतीय सामाजिक कार्यकर्तासँग मित्रता बढाए । उनीहरूसँग बिन्ती गर्दै जयपृथ्वीले भने, ‘मेरा भाई र ससुराले मसँग खाना खानु भएन । युरोपियन यात्रापछि मलाई मेरो पैतृक घरमा जान दिइएन र मैले एक रात होटलमा बिताउनुपर्यो र एक्लै खाना खानुप¥यो । के तपाईंलाई थाहा छ ? मैले मेरो दृष्टिकोणको कारण उनीहरूको दृष्टिकोणमा कास्ट हराएँ ।’
भारतमा रहँदा के गरे ?
राजा जयपृथ्वीबहादुर सिंह सन् १९२४ मा भारतकै बैंगलोर सरेका थिए । सन् १९२५ मा उनले बैंगलोरस्थित होल्सुरमा एक आवाशीय महल बनाए । त्यहीँ आवाशीय महलमा बसेर उनले सन् १९२८ मा एक ह्युम्यानिष्ट क्लबको स्थापना गरे ।
त्यसपछि मानवतावाद नामक पुस्तक प्रकाशन गरे । जसका ४ भाग छन् । त्यसपछि विश्व भ्रमणमा हिड्दै ‘हामी संसारभरका दाजुभाई एकै हौं’ भन्दै शान्तिको कामना गर्दै हिड्न थाले ।
सन् १९९४ डिसेम्बर २२ मा जयपृथ्वीले मुम्बईबाट प्रकाशित हुने भारतको चर्चित पत्रिका ‘द विक्ली’ मा विश्वमा शान्ति ल्याउन महिला सशक्तिकरण हुनुपर्छ भन्ने लेख प्रकाशित गरे । उनले त्यस लेखमा आफूले यात्राका क्रममा चीनकी कवियत्री लेउ हेङ् र अन्यबाट प्रभावित भएको बताएका छन्। चर्चित बङ्गाली साहित्यकार रविन्द्रनाथ टैगोरले सुनौलो पुस्तकमा जयपृथ्वीको बयान गरेका छन् ।उसो त रविन्द्रनाथ टैगोर ह्युम्यानिक क्लबका मानर्थ सदस्य पनि हुन् । जयपृथ्वीले आफ्नो जीवनकाल भरी १ सय भन्दा बढी त आत्मकथाले भरिएका डायरी लेखेका छन् ।
अहिले भारतमा राजा जयपृथ्वी र रानी खगेश्वरीका के अवशेष छन् ?
अहिले पनि भारतमा जयपृथ्वीले बनाएका महल भवन उस्तै छन् । उनले सन् १९२५ मा बैंगलोरको होल्सुरमा बनाएको आवाशीय महल अर्थात जय भवन अझैं देख्न सकिन्छ ।
बाहिर एक सुरक्षा गार्ड बस्ने भवन पनि छ । फरक शैलीमा बनाइएको यो भवनको दायाँ र बाँया गोर्खाली पहिचान क्रस खुकुरी रहेको छ । बाहिर बगैचा, रूखका छहारीले रमाइलो दृश्य देख्न सकिन्छ । होल्सुरस्थित तालको दक्षिणपट्टी गंगाधर क्षेट्टी रोडमा रहेको यो महल राजा जयपृथ्वीले समाजसेवामा तल्लीन तथा योगी मदर आमालाई चिनो स्वरूप हस्तान्तरण गरेका हाल सुरक्षा गार्डको रूपमा तैनाथ बझाङ तल्कोट गाउँपालिका– १ का भुरेन्द्र खाती बताउँछन् ।
उनका अनुसार योगी तथा समाजसेवी मदर आमाको मृत्युपश्चात केही समय खाली रहेको यो भवनमा अहिले अरूविन्दो सोसाइटीले कब्जा जमाएको छ । अरूबिन्दो सोसाईटीले अहिले महल प्रवेश र तस्विर खिच्नमा रोक लगाएको छ ।
महलभित्र अरूबिन्दोले पुराना सबै फेरबदल गरी योगा र संस्कृत कक्षा सञ्चालन गर्ने गरेको महलभित्र अरूबिन्दोले पुराना सबै फेरबदल गरी योगा र संस्कृत कक्षा सञ्चालन गर्ने गरेको छ भने पछाडिका भवनमा निजी विद्यालय सञ्चालन गरिरहेको छ ।
अरूबिन्दोले कुन आधारमा यस भवमा अनुमति पायो आफूलाई थाहा नभएको सुरक्षा गार्ड खातीले बताए । जयपृथ्वीले यो महललाई चिनो स्वरूप समाजसेवी मदर आमालाई हस्तान्तरण गरेपछि उनी होल्सुरबाट करिब २ किलोमिटर दक्षिण पश्चिम जय महल सरेका थिए । अहिले त्यस ठाउँको नाम पनि जयपृथ्वीकै नामबाट राखिएको छ । ठाउँको नाम जय महल मात्रै होइन, रोडको नाम जय महल रोड, होटेलको जय महल प्यालेस आदि नामाकरण गरिएका छन् । त्यस्तै रानी खगेश्वरीले पनि कब्बोन पार्कमा बनाएको फोहोरा र गार्डेन अझैं उस्तै छन् ।
यस गार्डेन छेउमा भारतले सम्मान स्वरूप एक ढुंगामा मसिनो अक्षरमा ‘गिफ्ट अफ द महारानी साहेब अफ बझाङ’ नेपाल लेखेको छ । सम्पूर्ण बझाङ तथा नेपालबासी र मानवअधिकारकर्मीलाई सदाका लागि टुहुरो पार्दै भारतको बैंग्लोरस्थित श्री जय महलमा वि.सं. १९९७ साल असोज १ गते ६३ वर्षको उमेरमा रानी खगेश्वरी सिंह र मानवतावाद नामक दर्शनयुक्त किताबलाई काखमा राखी रानीलाई ‘मेरो क्रिया तिमी आफैले गर्नु, तर शारीरिक पीडा नहुने गरी’ भन्दै सदाका लागि यो संसारबाट बिदा लिए ।
भारतमा यति धेरै इतिहास हुँदा पनि किन चर्चामा छैनन् ?
‘नेपालीले भारतमा रहँदा थुप्रै इतिहास छाडेर गएका छन् । तर नेपालले यसतर्फ कुनै चासो दिएको पाइँदैन । नेपालले आफ्नो इतिहासको रक्षाका लागि चासो दिनुपर्ने समाजसेवी तथा राजनीतिज्ञ राजेश रावल बताउँछन । नरू थापा भन्छन्, ‘नेपालीले बनाएका भवन, महल, पार्क पनि नेपालीले बनाएका हुन् भन्दैन भारतले । भारतको सम्पूर्ण भौतिक विकासमा नेपाली रगत पसिना बगेको छ । तर भारत नेपालीलाई नचिनेझैं गर्छ ।’
प्रवासी नेपालीहरूले अहिले दर्जन बढी समिति तथा संस्था स्थापना गरेका छन् । यी नै समिति तथा संस्थाले इतिहासका कुरा कहिल्यै नउठाउने गरेको बझाङकै केशबराज जोशी बताउँछन् । ‘इतिहास हेर्दा बझाङ र बैंग्लोर तथा भारतको सम्बन्ध कति दरिलो हुनुपर्ने हो त्यो आज छैन,’ बझाङका केदारस्युँ ८ का मानबहादुर बोहरा बताउँछन् । राजा जयपृथ्वीका आफन्तहरु भारतमै छन् ।
नेपाल पहरा । २८ श्रावण २०७९, शनिबार १२:१२