इरान जहाँ महिलासँग कुमारीत्वको प्रमाणपत्र खोजिन्छ

२७ साउन, काठमाडौं । इरानमा विवाहअगाडि कुमारित्व धेरै युवतीहरू र उनीहरूको परिवारका लागि अत्यन्त महत्त्वपूर्ण छ । कयौं पटक पुरुषहरुले कुमारित्व प्रमाणपत्र (भर्जिनिटी सर्टिफिकेट) माग्छन् । विश्व स्वास्थ्य सङ्गठन यो प्रथालाई मानवअधिकारको विरुद्ध मान्छ ।

पछिल्लो एक वर्षदेखि यो प्रथाविरुद्ध आन्दोलन गर्नेको संख्या पनि बढेको छ ।

‘तिमीले मलाई फसाएर मसँग बिहे गर्‍यौ किनकि तिमी कुमारी थिएनौ, यदि सत्य थाहा भएको भए तिमीलाई कसैले बिहे गर्ने थिएन।’

जब मरियमले आफ्नो पतिसँग पहिलो पटक यौनसम्पर्क राखेकी थिइन्, उनले यसरी गाली गरे ।

मरियमले आफ्नो श्रीमान्लाई यौनसम्पर्कको क्रममा रक्तस्राव नभए पनि आफूले यसअघि कहिल्यै यौनसम्पर्क नगरेको कुरा बुझाउने प्रयास गरिन् । तर उनका श्रीमानले उनको कुरा सुनेनन् र कुमारी भएको प्रमाणपत्र ल्याउन भने ।

इरानमा यो असामान्य विषय होइन। विवाह पक्का भएपछि धेरै महिला डाक्टरकहाँ गएर भर्जिनिटी सर्टिफिकेट बनाउँछन् ।

तर, विश्व स्वास्थ्य संगठनका अनुसार कुमारित्व परीक्षणको कुनै वैज्ञानिक आधार छैन ।

मरियमको सर्टिफिकेटमा उनको हाइमेन लचिलो रहेकोले यौनसम्पर्कका क्रममा रक्तस्राव नहुन पनि सक्ने लेखिएको थियो।

‘यसले मेरो इज्जतमा चोट पुगेको छ। मैले कुनै गल्ती गरिनँ तर मेरो श्रीमानले मलाई गाली गरिरहेका छन् । मैले अपमान सहन सकिन। मैले गोली हानेर आत्महत्याको प्रयास गरें ।’

मरियमलाई समयमै अस्पताल पुर्‍याइयो र उनको ज्यान बच्यो ।

‘म त्यो नराम्रो समयलाई कहिल्यै बिर्सन सक्दिनँ। त्यतिबेला मेरो बीस किलो तौल घट्यो ।’

कुप्रथाविरुद्ध आन्दोलन
मरियमको कथा धेरै इरानी महिलाहरूको जीवनको यथार्थ हो। विवाह अघि कुमारी नै रहनु अझै पनि धेरै महिला र उनीहरूको परिवारको लागि धेरै अत्यावश्यक छ। यो एक यस्तो मूल्य हो जुन इरानको संरक्षणवादी संस्कृतिको हिस्सा हो।

तर पछिल्लो समय परिस्थिति केही परिवर्तन हुँदैछ। कुमारित्व प्रमाणपत्रको प्रचलन विरुद्ध देशैभरका महिला तथा पुरुष दुवैले आवाज उठाइरहेका छन् ।

गत वर्ष नोभेम्बरमा, अनलाइन लन्च गरिएको एक हस्ताक्षर अभियानमा एक महिनाभित्र २५ हजारभन्दा बढी व्यक्तिहरूले हस्ताक्षर गरेका थिए।

इरानमा यति ठूलो संख्यामा मानिसले कुमारित्व परीक्षणलाई चुनौती दिएको यो पहिलो पटक हो ।

नेडा भन्छिन्, ‘यो गोपनीयताको उल्लङ्घन मात्र होइन यो धेरै अपमानजनक पनि हो ।’

नेदा १७ वर्षको उमेरमा तेहरानमा विद्यार्थी थिइन्, उनले आफ्नो प्रेमीसँग यौनसम्पर्क गरिन् र आफ्नो कुमारीत्व गुमाइन् ।

‘मेरो परिवारले थाहा पायो भने के होला भनेर म धेरै डराएकी थिएँ, नर्भस थिएँ ।’

नेडाले उनको हाइमेन मर्मत गर्ने निर्णय गरिन् ।

प्राविधिक रूपमा यस्तो काम इरानमा अवैध छैन। तर यसको सामाजिक परिणाम धेरै गम्भीर हुन सक्छ। यस्तो अवस्थामा कोही पनि अस्पताल उक्त कामका लागि जान तयार छैनन् ।

नेडाले एक निजी क्लिनिक खोजिन् जहाँ गोप्य रूपमा उक्त काम गर्न सकिन्थ्यो तर अत्यधिक महंगो रहेछ ।

उनी भन्छिन्, ‘मैले मेरो सबै पैसा यसमा खर्च गरें। मैले मेरो ल्यापटप, सुन र मोबाइल फोन पनि बेचिदिएँ ।’

उनले कागजमा हस्ताक्षर पनि गर्नुपरेको थियो जसमा केही गडबड भएमा पूर्ण रूपमा आफैं जिम्मेवार हुने व्यहोरा लेखिएको थियो ।

त्यसपछि एक सुडेनीले यो प्रक्रिया पूरा गरिन्। यसमा करिब चालीस मिनेट लाग्यो।

तर नेदालाई पूर्ण रूपमा निको हुन कैयौं हप्ता लाग्यो ।

‘म धेरै पीडामा थिएँ, म मेरो खुट्टा हल्लाउन पनि सक्दिन थिएँ,’ उनी सम्झन्छिन्।

नेदाले यो सबै आफ्नो परिवारबाट लुकाइन् ।

‘म धेरै एक्लो भएको थिएँ। यी सबै पीडा अरुले थाहा पाउनलान् भन्ने डरका कारण सहन सकेँ भन्ने लाग्छ ।’

अन्तमा, नेदाले भोगेको पीडाले उनलाई केही सहयोग पुगेन ।

एक वर्ष पछि, नेदाले उनलाई विवाह गर्न चाहने व्यक्ति भेट्टाइन् । तर जब उनीहरुले यौनसम्पर्क राखे, त्यहाँ रगत बगेन र त्यो प्रक्रिया असफल भयो।

‘मेरो प्रेमीले मलाई विवाहको लागि फसाएको आरोप लगाए। उसले मैले ढाँटेको आरोप लगाउँदै मलाई छाडिदियो ।’

पारिवारिक दबाब
विश्व स्वास्थ्य सङ्गठनले कुमारित्व परीक्षणको कुनै वैज्ञानिक आधार नभएको र यो अनैतिक रहेको बताए पनि आज पनि इन्डोनेसिया, इराक र टर्कीलगायत विश्वका धेरै देशमा यो प्रचलनमा छ ।

अर्कोतर्फ, इरानका चिकित्सासम्बन्धि संस्थाहरूका अनुसार कुमारित्व परीक्षण केही विशेष परिस्थितिहरूमा मात्रै गरिन्छ जस्तो कि अदालतको मुद्दा वा बलात्कारको आरोप लगाएको सवालमा मात्र ।

तर, अझै पनि कुमारित्व प्रमाणपत्रका लागि सबैभन्दा धेरै माग विवाह गर्न लागेका दम्पतीले गर्ने गरेका छन् । यस्तो अवस्थामा मानिसहरु निजी क्लिनिकमा जान्छन् । प्रायः केटीहरू आफ्ना आमाहरूसँगै हुन्छन् ।

महिला डाक्टर वा सुडेनीले परीक्षण गर्छन् र त्यसपछि प्रमाणपत्र दिन्छन् । यसमा बालिकाको पूरा नाम, बाबुको नाम र राष्ट्रिय परिचयपत्रका साथै केही तस्बिरहरू समावेश हुन्छन्। यो सर्टिफिकेटमा हाइमेनको पोजिसन उल्लेख गरिएको हुन्छ र सामान्यतया ‘युवती कुमारी जस्तो देखिन्छिन्’ भनेर लेखिएको हुन्छ ।

अधिक रूढिवादी परिवारहरूमा यो कागजातमा दुई साक्षीहरूको हस्ताक्षर हुन्छ र सामान्यतया आमाको पनि हस्ताक्षर हुन्छ ।

डा. फारिबाले धेरै वर्षदेखि यस्तो प्रमाणपत्र जारी गर्दै आएकी छन् । यो एक अपमानजनक अभ्यास भएको उनी स्वीकार्छिन्। वास्तवमा उनले महिलालाई सहयोग गरेझैं लाग्छ ।

‘उनीहरूमाथि परिवारबाट यति धेरै दबाब हुन्छन् कि कहिलेकाहीँ म दम्पत्तिको लागि मौखिक रूपमा झूटो बोल्छु। यदि तिनीहरूले यौन सम्बन्ध राखेका छन् र विवाह गर्न चाहन्छन् भने म परिवारलाई केटी कुमारी हो भनिदिन्छु,’ उनी भन्छिन् ।

तर धेरै पुरुषहरूले कुमारी युवतीसँग विवाह गर्नुलाई अझै पनि प्राथमिकतामा राखेका छन् ।

शिराजका ३४ वर्षीय इलेक्ट्रिसियन अली भन्छन्, ‘यदि कुनै केटीले विवाहअघि नै आफ्नो कुमारीत्व गुमाएकी छिन् भने उनी भरपर्दो हुँदिनन्। उनले आफ्नो पतिलाई अर्को पुरुषका लागि पनि छोड्न सक्छिन्।’

अहिले कुमारित्व परीक्षणका विरुद्धमा मानिसहरू बोल्ने र प्रदर्शन गरिरहेका भए पनि इरानी समाज र संस्कृतिमा यो विचार यति गहिरो छ कि निकट भविष्यमा सरकारले यसलाई प्रतिबन्ध लगाउने सम्भावना धेरै कम देखिन्छ।

भविष्यका लागि विश्वास

उत्पीडन गर्ने श्रीमानसँग बसेको र आफ्नो ज्यान लिने प्रयास गरेको चार वर्षपछि मरियमले अदालतमार्फत सम्बन्धविच्छेद गर्न सफल भइन् ।

केही साताअघि उनी फेरि एक्लै भएकी छिन् ।

उनी भन्छिन्, ‘फेरि एक जना पुरुषलाई विश्वास गर्न धेरै गाह्रो हुन्छ। निकट भविष्यमा मेरो विवाह सम्भव देख्दिनँ ।’

हजारौं अन्य महिलाहरू जस्तै उनले पनि भर्जिनिटी प्रमाणपत्रको अभ्यास विरुद्ध अनलाइन अभियानमा हस्ताक्षर गरिन् ।

छिट्टै कुनै परिवर्तन आउने विश्वास नभए पनि, यहाँसम्म कि आफ्नो जीवनकालमा पनि कुनै परिवर्तन हुने विश्वास नभए पनि एक दिन देशमा महिलाले थप समानता पाउने दिन आउने उनको विश्वास छ ।

‘मलाई विश्वास छ कि एक दिन अवश्य आउनेछ जब महिलाले यस्तो अपमानजनक अवस्थाबाट गुज्रनु पर्दैन।’

(नोट: यस प्रतिवेदनमा भएका सबै नामहरू गोपनियताका लागि परिवर्तन गरिएको छ।)

बीबीसी विश्व सेवाबाट

तपाईको प्रतिक्रिया