१ सय ३० भूमिहीन दलित परिवारलाई पुर्जा वितरण


टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित बादी बस्तीमा १३० भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमकाबीच त्यहाँका १३० भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण गरेकी हुन् । जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै उनले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरु गरेको बताइन् ।
मन्त्री श्रेष्ठले नदी उकासदेखि बाँझो जमिनको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम अघि बढाएको बताइन् । मन्त्री श्रेष्ठले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताइन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको हक अधिकार स्थापित गर्नु भूमिहीनलाई भूमि वितरणको काम गरिरहेको उनले बताइन् ।
मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदनअनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुनरस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको उनको भनाइ थियो । उनले भूमिहीनलाई लालपुर्जा वितरणको काम अभियानको रुपमा अगाडि बढाइएको बताउँदै हालसम्म गाउँब्लकमा ५० हजार भन्दाबढी भूमिहीनलाई लालपुर्जा वितरण गरेर कानुनी रुपमा जग्गाको मालिक बनाइएको दाबी गरिन् ।
उनका अनुसार यहि वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने र दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय लागि परेको छ । सबै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटाउँदै नतिजा दिनेगरी काम गरिरहेको उनको भनाइ थियो ।
लामो समयदेखि पुर्बपश्चिम राजमार्गको किनारामा बस्दै आएका बादी समुदायले लालपूर्जा पाएपछि सो बस्तीमा खुशीयाली छाएको छ । सो बस्तीमा विभिन्न कठिनाई भोगेर जीवन निर्वाह गर्दै आएका बादी समुदायले जमीनको मालिक बन्न पाएकोमा अत्यन्तै खुशी भएको स्थानीय रमा बादीले बताइन् । बर्षौदेखि सो बस्तीका बादी समुदायले खानेपानी, विद्युत लगायत अति आवश्यक आधारभूत आवश्यकताबाट बञ्चित हुनुपरेको थियो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा सो समुदायको बसोबास रहेको छ । पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जीवन निर्वाह गर्ने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएका छन् ।

तपाईको प्रतिक्रिया