विपना सिंह
सुर्खेत ।
देउडा खेलौडा र देउडाका पारखीहरुका लागि मन् बिसाउने चौतारी बनेको छ सुर्खेत घण्टाघर नजिकैको खुल्ला मञ्च । प्रत्येक महिनाको १ गते र १५ गतेका लागि घण्टाघरको खुल्ला मञ्च एउटा विशाल पैठ,पर्व र चाँड एवम् महोत्सवनै बन्ने गरेको छ देउडाप्रेमीहरुका लागि ।
देउडा खेलौडाहरु को सँग पो देउडा घम्साघम्सी हुने हो भनेर देउडा खेल्नका लागि र देउडा हेर्ने रहडीहरु आफुले चाहेको देउडा खेलाडीहरु उपस्थित हुन पाएको भए हुने थियोे भनेर प्रतिक्षारत रहेको हुन्छन् १ गते र १५ गतेको बिहानै देखि । जबजब दिउँसोको समय सुरुवाती हुन थाल्छ घण्टाघर चौर भरिन थाल्छ । कर्णाली मात्र नभइ सुदूरपश्चिमका जिल्लावासीहरु समेत मेला हेर्न लस्कर लागेर आउने गर्छन् घण्टाघरमा ।
घण्टाघरमा पुग्ने धेरैले चिन्ने नाम हो सुनसरा शाही । स्थानीय तह निर्वाचनमा कालिकोटको पचालझरना गाउँ कार्यपालिका सदस्यमा निर्वाचित भएपछि घण्टाघरमा कमै देखिने सुनसरा त्यसअघि यहाँ नियमित उपस्थित हुने र देउडा लाई स्थापित गर्ने मुख्य पात्र नै हुन् । देउडा सम्राट नेत्रराज शाही, चर्चित देउडा खेलाडी पुर्ण धिताल, पुष्पराज आचार्य, कृष्णराज धमला, बिजयराज सेजुवाल,कर्णबहादुर शाही, कमला धामी , बलु शाही, बिमला बुढा,पानसरा थापा र हाल बेला रोकाय, सपना रावत देखि बाल देउडा खेलाडी विपना सिंह समेत दर्जनौं देउडा खेलाडीहरुले आफ्नो कला देखाई सकेका छन् घण्टाघरमा ।
कर्णाली बिधार्थी हित समाज, कर्णाली एकता समाज लगायतका संघ,संगठनहरुले २०६२ साल अघि चित्रसिंह गाउँले,पुष्पराज आचार्य लगायतको पहलमा एकाध रुपमा देउडा आयोजना गरेको घण्टाघर खुल्ला मञ्चले अब नियमित देउडा चल्ने गरेर स्थान सुरक्षित गरेको देउडा संरक्षकहरुको भनाइ छ । देउडा र खष भाषा कसैले जोगाएर नभई खासगरी साविक कर्णालीवासीको कारण जोगिएको भन्दै यसलाई कर्णाली प्रदेश सरकारले विशेष प्राथमिकतामा राख्न नसकेको खष भाषाका जानकारहरु बताउँछन् ।
सुर्खेतको घण्टाघर खुल्ला मञ्चमा कर्णाली प्रदेशका मात्रै नभइ सुदूरपश्चिम प्रदेशदेखि समेत देउडा खेलाडी र देउडाका पारखीहरु केन्द्रित हुने गरेका छन् । देउडा सर्जकहरुको प्रयत्नले गर्दा सुर्खेत खुल्ला मञ्च भेटघाट र मनोरञ्जन दिने सँगसँगै संस्कृति जगेर्ना गर्ने चौतारी बन्न सकेको कर्णाली कला संस्कृति केन्द्रका अध्यक्ष बिजयराज सेजुवालको भनाइ छ । पछिल्लो समय विशेषगरी कोरोना कहर यता आएर मेला तथा महोत्सवमा कमी आइरहेको समयमा १ गते र १५ गतेको खुल्लामञ्च नै महोत्सव बन्ने गरेको उहाँको भनाइ थियोे । नियमित रुपमा गर्न नसकिएपनि स्थानीय तह र प्रदेश सरकारले साथ दिएर कर्णालीको इतिहास , भाषा र संस्कृति प्रदर्शन गर्ने घण्टाघर मेलालाई ब्यवस्थित गरिनुपर्ने देउडा खेलाडी सुनसराको भनाइ छ ।
सुर्खेत घण्टाघरले जगायको देउडा
तपाईको प्रतिक्रिया
नेपाल पहरा । १५ भाद्र २०७९, बुधबार २२:५१