विपना सिंह
कालिकोट १२ भदौ ।
शुभकालिका वडा नम्बर – ६ निवासी पुष्पराज आचार्य मनले नचाहदा नचाहदै बुधबार बिहान सदरमुकाम मान्मदेखि आफ्नो गाउँ प्रस्थान गर्नुभएको छ ।
गाउँमा गैरहँदा पनि उहाँको मन् सदरमुकाम मान्ममै थियोे । बाटोमा हिड्दै गर्दा उहाँमा यही चासो हुन्थ्यो कि सदरमुकाममा चलिरहेको भलिबल कसले जित्यो होला ।
लिंगासैनी युवा क्लव कालिकोटद्वारा कर्णाली प्रदेशकै ठूलो धनराशीको पुरस्कार ब्यवस्था सहित आयोजित दोस्रो कर्णाली गोल्डकपले उहाँ जस्तै कैयौं कालिकोटबासीहरु भलिबलमा रमेका छन् ।
सदरमुकाममा काम नभएका मान्छेहरु समेत भलिबलकै कारण सदरमुकाममा घुइँचो लागिरहेका छन् भने विशेष काम बाहेक सदरमुकाम छाडेर कोहीपनि यताउता जादैनन् ।
कर्णाली जेसिज कालिकोटले यही असोज ५ गतेदेखि जेसिज कप भलिबल सञ्चालन गरेर सुरुवाती भएको भलिबल खेलमा लिंगासैनी क्लबद्वारा आयोजित गोल्डकप ले थप रौनक दिएको छ । जनप्रभात मावि शेरावाडाका प्रधानाध्यापक पदम बहादुर मल्लको भनाइमा बिहान ७ बजेदेखि साझ अँध्यारो हुँदासम्म कालिकोटको खुल्ला मञ्च भलिबलमय भैरहने गरेको छ भने राति ननिदाउदा सम्म समेत स्थानीयहरु भलिबलमै ध्यान दिइरहेका हुन्छन् ।
संविधानसभा सदस्य तुलाराज बिष्टले उद्घाटन गरेको भलिबल प्रतियोगिता सञ्चालन भैरहदा जिल्लाका विशिष्ट व्यक्तित्वहरु समेत प्रतियोगिता स्थलमै केन्द्रित रहने गरेका छन् । खुल्लामञ्च नजिकैका जिल्ला अदालत, जिल्ला समन्वय समिति,सरकारी वकिल कार्यालय,जिल्ला प्रहरी कार्यालय समेतका छतहरु बाट भलिबल प्रतियोगिता नियाल्ने क्रम चल्ने गरेको छ । भलिबल प्रतियोगिता सेमिफाइनल को पहिलो गेमसम्म सम्पन्न भएको आयोजक लिंगासैनी क्लबका अध्यक्ष हिक्मतजंग मल्लले जानकारी गराउनुभयो ।
नेपाल पहरा । १२ आश्विन २०७९, बुधबार १८:५९